Breaking News

पत्रकार चेतन धमलाको ‘पौरख’ सार्वजनिक

काठमाडौं, पुस । तल्लोस्तरबाट काम गर्दै राष्ट्रिय जीवनमा योगदान पुर्याएका पौरखीहरुको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिबार सार्वजनिक भएको छ । इटहरीलाई कर्मथलो बनाएका पत्रकार चेतन धमलाद्धारा लिखित पुस्तकको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन गर्दै अर्थमन्त्री कार्कीले संघर्षशील र सफल व्यक्तिहरुको पर्दा पछाडीको रहस्य अन्य व्यक्तीका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले हरेक युवाले पौरखी पुस्तक पढेमा केही न केही गर्ने क्षमता, उर्जा र अठोट बढाउने बताउनु भयो । ‘पुस्तकमा समावेश सबैका स्टोरीले मुलुकभित्रै केहि गर्ने प्रेरणा मिल्छ’, उहाँले भन्नुभयो, ‘गरिरहेका र गर्न खोज्ने युवाका लागि यो एउटा क्याप्सुल हो ।’
कार्यक्रममा पूर्वमुख्यसचिव विमल कोइराला, सूचना आयुक्त किरण पोखरेल, पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यलगायतले पुस्तकमाथि टिप्पणी गर्दै सफल व्यक्तिहरुको कथा भावी पिढींका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । किताबबारे पत्रकार तथा कबी डा। नवराज लम्सालले कर्मजीविको कथाले निराशामा रहेका युवालाइ उर्जा प्रदान गर्ने बताउनु भयो ।
उहाँले पुस्तकमा कुनै काल्पनिक कथा नभइ समाजकै जिवित पात्रहरुको सँघर्षको कथा उल्लेख गरिएको हुँदा पुस्तक जीवन्त रहेको बताउनु भयो । त्यस्तै पुर्व मुख्य सचिव विमल कोइरालाले सँघर्षले खारिएका जीवन अरुका लागि उदाहरणका पात्र बन्ने अनुभव सुनाउनुभयो । पुस्तकमा समेटिएका व्यक्तिहरु मध्ये अनिल विश्वकर्मा गजमेर, सुसिल पोख्रेल, भोला दुलाल र डा रमेश भट्टराइले पनि कार्यक्रममा सफलता र संघर्षका अनुभव सुनाउनु भएको थियो ।
तल्लो तहबाट संघर्ष गर्दा गर्दै स्थापित भएका विभिन्न क्षेत्रका २३ जनाका सँघर्ष र सफलताका कथा पुस्तकमा समेटिएको छ । अनेक स्वार्थ र लाभको लोभ त्यागेर आफ्नो ठाँउबाट देश र जनताका लागि योगदान दिएका व्यक्तिहरुका बारेमा राज्यलाई खवरदारी र जानकारी गराउन आवश्यक भएकाले उनीहरुको संघर्ष र योगदानलाई संकलन गरेर आफुले कितावको रुप दिएको लेखक धमलाले बताउनु भयो ।

No comments