Breaking News

नाकाबन्दीले तीन कार्यक्रम एक साथ


भारतले गरेको नाकबन्दीका कारण कलाक्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । फिल्महलहरु पनि राम्ररी संचालन हुन सकेका छैनन् भने सुटिङ पनि प्रभावित भएको छ । कलाक्षेत्रसंग सम्बन्धित अन्य कार्यक्रम पनि लथालिङ्गको अवस्थामा रहेको छ । यसैबीच, नाकाबन्दीको असर सौन्दर्य प्रतियोगितामा पनि परेको छ । नाकाबन्दीकै कारण एएनपी मिडिया हाउस, दक्ष इन्टरनेशनल प्रालि र स्टार वन इन्टरटेनमेन्टले छुट्टाछुट्टै गर्न लागेको कार्यक्रम एकै स्थानमा गर्ने भएका छन् । उनीहरुले टिचर आइकन अफ द इयर, मिस व्युटीफुल नेपाल र मिस ग्लोब इन्टरनेशनल नेपाल गर्दै आएका थिए । उनीहरुले प्रशिक्षण पनि एउटै हलमा दिंदै आएका छन् । अन्तिम प्रतिस्पर्धा पनि एउटै मञ्चमा हुने छ । मिस व्युटीफूल नेपाल बिहान हुनेछ भने टिचर आइकन अफ द इयर र मिस ग्लोब इन्टरनेशनल नेपाल दिउँसो एकसाथ हुने भएको छ । टिचर आइकन अफ द इयर का आयोजक संस्था एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीले मितव्ययिताको उदाहरण दिन एक साथ कार्यक्रम गर्न लागिएको बताए । मिस ग्लोब इन्टरनेशनल नेपालका आयोजक संस्था स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले प्रतियोगितहरुमा मित्रताको भावना विकास गर्न यस कार्यक्रमले सघाउ र्पुयाउने बताइन् । तीनै प्रतियोगिताबाट मूख्य उपाधिका साथमा फष्ट, सेकेण्ड र थर्ड रनर्सअपका साथमा विभिन्न उप–उपाधिमा विजेता चयन गरिनेछ । तीनै प्रतियोगितामा अश्वीनी झाको कोरियोग्राफी रहनेछ । यसैबीच, भारतले गरेको नाकाबन्दीको विरोधमा विप्लव नेतृत्वको माओवादीले हिन्दी फिल्म र च्यानल प्रशारण रोक्न उर्दी जारी गरेको छ । तर, चलचित्रकर्मीहरु विप्लवले भने झैं हिन्दी फिल्म बन्द गर्ने पक्षमा छैनन् । उनीहरुको भनाइ अनुसार हिन्दी फिल्म बन्देज आफैंमा समस्या समाधानको उपाय होइन । धेरै कलाकर्मीको भनाई अनुसार यो राजनितीक समस्या भएकाले राजनितीक रुपमै समाधानको उपाय खोजिनुपर्छ । हेरौं उनीहरुको भनाई कस्तो छ । नेपालको नाकाबन्दी हटाउनलाई भारतीय चलचित्रकर्मीलाई समेत आग्रह गरेका थिए नेपाली चलचित्रकर्मीले । नेपालको पक्षमा बोलिदिन भारतीय फिल्मकर्मीलाई अपिल गरेका केपी पाठक फिल्म रोक्न नहुने धारणा राख्छन् । ‘दुई देशविचको कुरा मिलेन भन्दैमा कसैको सिर्जनामाथि बन्देज लगाईनु हुन्न ।’ उनले भने । केही भारतीय फिल्मकर्मी पनि नेपालका शुभचिन्तक भएको धारणा राख्ने पाठक केही फिल्म बन्द गर्दा सिर्जनामाथि न्याय नहुने धारणा राख्छन् । मुलुकको एकता, सार्वभौमसत्ता र सामाजिक सद्भाव कायम राख्न चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान सुरु गरेको धारणा राख्छन् हरिहर शर्मा । उनी अभियानका संयोजक पनि हुन् । पछिल्लो समय दुई मुलुकविच देखिएको असमझदारी हटाउन सरकार र प्रमुख राजनीतिक दलले कुटनितीक पहल गर्नुपर्ने धारणा राखे । ‘हामी संयमित भएर आन्दोलन गछौं, उत्ताउलो भएर होईन ।’ अहिले हिन्दी फिल्म बन्द गर्दा मुलुकलाई फाईदा हुन्छ जस्तो उनलाई लाग्दैन । उनी भन्छन् ‘यो समस्या राजनितीक तहमा बसेर समाधान गर्नुपर्छ । फिल्म वा च्यानल बन्द गरेर होईन ।’ अहिले नेपाल भारत सम्बन्धमा जुन चिसोपना आएको छ । यो राजनितीक मुद्दा हो भन्ने लाग्छ कलाकारसंघका अध्यक्ष नवल खड्कालाई । राजनितीक रुपमै यसको समाधान खोज्नुपर्छ भन्ने नवल भन्छन ‘ जबसम्म राज्यले कुटनितीक पहल गर्दैन, तबसम्म समस्या समाधान हुँदैन ।’ हिन्दी फिल्म र च्यानल बन्दले दवाव त देला तर, समस्या समाधानै भने हुँदैन बुझेका नवल कलाकार संघले नाकाबन्दीको बिरुद्धमा रचनात्मक काम गरेको बताउँछन् ।

No comments