Breaking News

अन्तिम कसरतमा दलहरु, मध्यरातपछि मौनअवधि

काठमाडौं, १८ मंसिर । प्रदेश तथा प्रतिनिधि सभा निवार्चन अन्तर्गत दोस्रो चरणमा आगामी विहीबार हुने  हुने चुनावका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ । 
निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आयोग प्रवक्ता नवराज ढकालले राति १२ बजेबाट मौन अवधि हुने भएको जानकारी दिनुभएको हो । उहाँले यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार–प्रसार गर्न नपाइने बताउनुभयो ।  

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि चुनाव हुँदैछ । निर्वाचन आयोगले आजबाट मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन गर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनमा परिचय प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था छ । आज मध्यरातबाट मौन अवधि शुरु भएकाले राजनीकि दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।चुनावी मैदानमा उत्रिएका प्रमुख दलका शीर्ष नेताहरू आजबाट आ–आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदैछन् ।
शीर्ष नेता को कहाँ ?
कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् । यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन् । देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।

No comments